अध्यक्षकोतर्फबाट (Chairperson’s Message)

​”महिला नेतृत्व, सामूहिक प्रयास समग्र सामाजिक रूपान्तरण हाम्रो महाअभियान

आदरणीय आमा, दिदीबहिनी तथा दाजुभाइहरू आत्मीय मित्रहरू

नमस्कार !

“देउमाई रूपान्तरणका लागि महिला”  को यस आधिकारिक डिजिटल चौतारी (वेबसाइट) मार्फत आफ्ना भावना र संस्थाको मार्गचित्र यहाँहरूसामु साट्न पाउँदा मलाई अत्यन्तै गौरवको अनुभूति भएको छ। संस्थाको स्थापनाकालदेखि नै अध्यक्षको गरिमामय पदमा रहेर यस ऐतिहासिक अभियानको नेतृत्व गर्ने अवसर पाउनु मेरो जीवनको सबैभन्दा ठूलो जिम्मेवारी र अहोभाग्य हो।

म केवल एउटा संस्थाको अध्यक्ष मात्र होइन; म एक आमा हुँ, घरव्यवहार सम्हाल्ने गृहणी हुँ र समाजको दुःख-सुख नजिकबाट नियालेकी एक सच्चा सामाजिक अभियन्ता पनि हुँ। विगत १० वर्षभन्दा बढी समय शैक्षिक क्षेत्रमा व्यतित गरेर प्राप्त गरेको अनुभव र कोरोना कालपछाडि समाजमा सिर्जना भएका नयाँ चुनौतीहरूलाई आत्मसात् गर्दै मैले यो रूपान्तरणकारी सामाजिक यात्रामा आफूलाई पूर्ण रूपमा समर्पित गरेकी छु। यस संस्थाको जग बसाल्न, यसलाई संस्थागत रूप दिन र अगाडि बढाउन मेरो अनुभव, कार्यकुशलता र व्यक्तिगत प्रयास मात्र होइन, मेरा प्रिय मित्रहरूको अथक मेहनत, परिश्रम मेरा परिवारको साथ सपोर्ट ले यहाँसम्मको यात्रा सम्भव भएको हो।

​एउटा समाजलाई परिवर्तनको दिशामा डोर्‍याउनु सहज काम निश्चितै थिएन। तर, संस्थाका आदरणीय कार्यसमिति सदस्य तथा दिदीबहिनीहरूबाट मैले जुन निःस्वार्थ प्रशासनिक, नैतिक र सांगठनिक सपोर्ट पाएँ, त्यसैले मलाई सधैँ अगाडि बढ्ने उर्जा दियो। उहाँहरूको बलियो साथ र विश्वासकै जगमा संस्थाको हरेक सानो-ठूलो व्यवस्थापन मिलाउन, कार्यक्रमहरूको रूपरेखा तयार पार्न र फिल्डमा खटिन  अग्रसर भई अहोरात्र क्रियाशील रहँदै आएकी छु।

​हाम्रा दिदीबहिनीहरूको हकहित, अधिकार र सामाजिक न्यायका लागि मागहरू लिएर म स्थानीय टोल र वडा तहमा मात्र सीमित रहिनँ। स्थानीय सरकार (नगरपालिका) देखि लिएर प्रदेश सरकार, संघीय सरकार र देशको केन्द्रीय स्वास्थ्य मन्त्रालय सम्म आफैँ पुगेर आवश्यक योजना, बजेट र कार्यक्रम माग गर्नका लागि मैले अथक दौडधुप र पैरवी गरेकी छु। देउमाईका महिलाहरूको आवाजलाई राज्यको उच्च तहसम्म पुर्‍याउनु मेरो मुख्य सङ्कल्प हो।

Keep Updated

Newsletter

Copyright © 2026 Women for Conversion Deumai. All Right Reserved.