
About Us

पृष्ठभूमि:
नेपालको पूर्वी कोशी प्रदेश अन्तर्गत प्राकृतिक हराभरा र मनमोहक दृश्यहरूले सजिएको इलाम एक प्रसिद्ध पहाडी जिल्ला हो। महाभारत पर्वत शृङ्खलाको दक्षिणपट्टी र सिङ्धलिला पहाडी शृङ्खलाको काखमा अवस्थित यो सुन्दर नगरी ‘पूर्वी नेपालको प्रमुख आकर्षणको केन्द्रविन्दु’ का रूपमा परिचित छ। इलाम ऐतिहासिक र भौगोलिक रूपमा ‘चार खोलाको भूमि’ भनेर समेत चिनिन्छ, जहाँ जोगमाई, माई, पुवामाई र देउमाई जस्ता नदीहरूको पवित्र संयोजन भएको छ।
यही ऐतिहासिक चार खोलामध्येको एक प्रमुख ‘देउमाई खोला’ क्षेत्रले समेटेको भूक्षेत्र नै इलाम जिल्लाकै अत्यन्त सुन्दर, उर्वर र प्रमुख पर्यटकीय स्थलहरूले भरिपूर्ण देउमाई नगरपालिका हो। प्राकृतिक तथा प्रशासनिक दुवै दृष्टिकोणले इलामको पश्चिमी क्षेत्रको मेरुदण्डका रूपमा रहेको यस नगरपालिकाको आफ्नै विशिष्ट भौगोलिक सिमाना र पहिचान रहेको छ। यस नगरपालिकाको पूर्वमा इलाम नगरपालिका, पश्चिममा माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका, दक्षिणमा माई नगरपालिका र उत्तरमा पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका रहेका छन्। यी विशिष्ट भौगोलिक सिमानाहरूको संयोजन र अनुकूल मौसमका कारण यो नगर क्षेत्र आन्तरिक तथा बाह्य आगन्तुकहरूका लागि एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ।
जिल्लाको पश्चिमी क्षेत्रको प्रशासनिक तथा आर्थिक केन्द्रका रूपमा विकास भएको देउमाई नगरपालिका भौगोलिक विविधतासँगै जातीय, सामाजिक र सांस्कृतिक रूपमा समेत अत्यन्त धनी छ। यहाँ परापूर्वकालदेखि नै विभिन्न जातजाति र समुदायहरू आपसी सद्भावका साथ बसोबास गर्दै आएका छन्। कुल ९ वटा वडाहरूमा विभाजित यस नगरपालिकाको कुल जनसङ्ख्या करिब ३४,६९९ रहेको छ। यस क्षेत्रभित्र प्राचीन कालदेखि सञ्चालनमा आएका तथा ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेका अनेकौँ सम्पदाहरू विद्यमान छन्, जसले देउमाईको गरिमालाई अझ उच्च बनाएका छन्।
संस्थाको प्रादुर्भाव र समसामयिक चुनौतीहरू
प्रकृतिको यो अनुपम उपहार र सांस्कृतिक सद्भावका बावजुद, वर्तमान समयमा यस क्षेत्रले विभिन्न समसामयिक चुनौतीहरूको सामना गरिरहेनु परेको छ। देउमाई नगर क्षेत्रमा विद्यमान सामाजिक भेदभाव, गरिबी, बेरोजगारी, प्राकृतिक प्रकोप र वातावरणीय ह्रास जस्ता समस्याहरू विकासका बाधकका रूपमा रहेका छन्। त्यसैगरी जलवायु परिवर्तनका विश्वव्यापी असरहरू, भौगोलिक विकटता, राजनीतिक अस्थिरता, उपलब्ध प्राकृतिक स्रोत र साधनको अन्यायपूर्ण उपभोग एवं वितरण जस्ता कारणहरूले गर्दा स्थानीय नागरिकहरूले अझै पनि अशान्ति, गरिबी, अशिक्षा, हिंसा, शोषण, अपर्याप्त पूर्वाधार सेवा र सुशासनको अभाव जस्ता बहुआयामिक समस्याहरू झेलिरहनु परेको यथार्थ हाम्रा सामु छ।
यस्ता जटिल सामाजिक र आर्थिक समस्याहरूको दिगो समाधान गर्नका लागि केवल सरकारी प्रयास मात्र पर्याप्त हुँदैन। समाजको समग्र विकासका लागि सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरण गर्दै एक सभ्य, सुसंस्कृत, समुन्नत र सामाजिक न्यायमा आधारित सुशासित समाज स्थापना गर्नु आजको प्रमुख आवश्यकता हो। यही आवश्यकता र युगीन मागलाई आत्मसात् गर्दै, देउमाई नगर क्षेत्रका अग्रणी, सचेत र क्रियाशील महिलाहरूको सक्रिय सहभागिता र दृढ संलग्नतामा एउटा नयाँ सोचको सूत्रपात भएको हो।
संस्थाको स्थापना र रूपान्तरणकारी अभियान
देउमाई नगरपालिकाका महिलाहरूमा रहेको आन्तरिक क्षमता, नेतृत्वदायी भूमिका र सामाजिक उत्तरदायित्वलाई एकीकृत गर्दै नगर क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा पर्यटकीय विकासमा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ यो संस्था क्रियाशील भएको हो। स्थानीय तहदेखि नै नगरपालिकाको समग्र कार्य प्रणाली र विकास निर्माणका कार्यहरूमा रचनात्मक सहयोग पुर्याउन अग्रणी महिलाहरूको सक्रियतामा संस्था दर्ता ऐन, २०३४ को अधिनमा रही “देउमाई रूपान्तरणका लागि महिला“ नामक गैरनाफामूलक सामाजिक संस्थाको विधिवत स्थापना विक्रम संवत २०८१ सालमा भएको हो।
संस्था वैधानिक रूपमा स्थापना भएदेखि नै यसले देउमाई नगर क्षेत्रमा महिलाहरूको एक सशक्त, स्वतन्त्र र सक्रिय संगठनको रूपमा आफ्नो बलियो संस्थागत पहिचान बनाउन सुरु गरिसकेको छ। पूर्ण रूपमा स्वयंसेवी र सामाजिक सेवाको भावनाबाट अभिप्रेरित भई यस संस्थाले नगर क्षेत्रको समग्र विकासका लागि विभिन्न रचनात्मक र चेतनामूलक कार्यक्रमहरू अगाडि बढाएको छ। यसका निम्ति स्थानीय समुदाय, वडा तह, नगरपालिका, जिल्ला र प्रदेश स्तरसम्म आवश्यक समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।
हाम्रो प्रतिवद्धता र भावी मार्गचित्र
विगत आर्थिक वर्ष २०८१/०८२ भित्र संस्थाले गरेका विभिन्न प्रारम्भिक कार्यहरू र प्राप्त अनुभवहरूले हामीलाई थप उत्साहित बनाएका छन्। संस्थाको आन्तरिक सुदृढीकरण र संस्थागत विकाससँगै टोल, वडा र समग्र नगर क्षेत्रकै उन्नति र प्रगतिमा थप ठोस सहयोग पुर्याउन हामी प्रतिबद्ध छौँ। यो वेबसाइट देउमाईका महिलाहरूको आवाज, उनीहरूको अदम्य साहस र रूपान्तरणको यात्रालाई संसारभरका हितैषीहरूमाझ पुर्याउने एउटा डिजिटल चौतारी हो। हामी देउमाईको भूगोल, इतिहास र यहाँको प्राकृतिक सम्पदाको जगेर्ना गर्दै न्यायपूर्ण र समृद्ध समाज निर्माणको यस महाअभियानमा निरन्तर लागिरहने प्रण गर्दछौँ।

Quick Links
Other Pages
Contact Info
Copyright © 2026 Women for Conversion Deumai. All Right Reserved.